25/04/2026
विश्व औलो दिवस:
औलो के हो ?
लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग 'औलो' विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाइन्छ । औंलोलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ, एनोफेलिस लामखुट्टेको टोकाईबाट औंलोको सङ्क्रमण मान्छेमा सर्ने गर्दछ । सन् २०१५ को अध्ययन अनुसार संसारभर अझै पनि ९१ बढी देशमा मलेरियाको सङ्क्रमण रहेको पुष्टि गरेको छ ।
आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै औलो (मलेरिया) दिवस मनाइन्छ ।
के औलो निको हुन्छ ?
समयमै उपचार पाएमा मलेरिया निको हुन सक्दछ तथापि विकासोन्मुख देशका नागरिकहरूमा यसबारे देखिएको जनचेतनास्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्युको सङ्ख्या आशातीत घट्न सकेको छैन ।
मलेरिया विरुद्धको खोप नलगाएका व्यक्तिहरूमा यसको सङ्क्रमणको दर उच्च हुन्छ, मलेरिया ओसार्ने लामखुट्टेले टोकेको ७ देखि १५ दिन भित्र यसका लक्षणहरू देखिन्छन् । यसका लक्षणहरूमा रक्त अल्पता, श्वास-प्रश्वासमा समस्या, सेरिबरल मलेरिया आदि हुन्छन् । सन् २०१५ सम्ममा लगभग संसारका आधि जनसंख्यानै मलेरियाको जोखिममा थिए, बालबालिका, गर्भवती आमाहरू, एच.आई.भी. सक्रमितहरू तथा जमेको पानी वरपर बस्ने समुदाय अनि सरसफाइमा ध्यान नदिनेमा यस रोगको उच्च जोखिममा रहन्छन् ।
मलेरिया विरुद्धको खोप:
मलेरियाको रोकथामकालागि समय समयमा दिइने खोप, समयमै आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्त्वपूर्ण छ । घर वरिपरि सरसफाइ गर्ने, पानी जम्न नदिने, पानी जम्नसक्ने सरसामानहरूको उचित व्यवस्थापन गर्ने र समय समयमा मलेरिया सार्ने लामखुट्टेहरुलाई भगाउने किटनाशक/रसायन छर्केर पनि न्यूनीकरण गर्न सकिन्छ ।
भावी पुस्तालाई मलेरियाबाट जोगाउन तोकिएको उमेर हदमै खोप लगाउन जरुरी छ, मलेरियाका कीटाणुहरू शरीरमा प्रवेशपछि क्रमशः कलेजोमा जान्छन्, विस्तारै कीटाणुले मूल रक्त प्रवाहमा छिरेर यिनीहरूले रातो कोशिकामा हमला गर्दछन् । बेलैमा उपचार नभएमा यसको सङ्क्रमणले सजिलै ज्यान लिन्छ, हामी सबै जना सतर्क हुन जरुरी छ ।
अरनिको हस्पिटल प्रा.लि.
डा. उज्ज्वल कार्की
फिजिशियन
उर्लाबारी न.पा. ५, स्कुलडाँडा, मोरङ
फोन नं. ०२१-५४३९८१, ९८०१९०९४८१, ९७४६८७१०८१
ई-मेल: aranikohospital@gmail.com