27/12/2025
आफूलाई समाजसेवामै समर्पित डाक्टर दिलबहादुर थोकरसँग यसपटक हामीले विशेष कुराकानी गरेका छौं । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंशः
कान्छीमाया तामाङ फाउण्डेशनको जन्म कसरी भयो ?
यसमा मेरो एउटा दुःखद् घटना छ सर । ०७२ सालमा मेरो आमा कान्छीमाया तामाङको मोटरसाइकलले ठक्कर दिँदा निधन भयो । म त्यतिबेला डाक्टर पढ्न चीन गएको थिएँ । म डाक्टर भएको त उहाँले देख्नुभएन । स्वर्गको कुनै कुनामा उहाँ अहिले हुनुहुन्छ भने मलाई आफ्नो छोरा डाक्टर भएको छ भनेर देखिरहनु भएको होला । उहाँलाई त बचाउन सकिनँ मैले । तर मेरो आमा जस्तै हजारौं आमालाई बचाउन सकियोस् भनेर मैले उहाँकै नाममा फाउण्डेशन खोलेर काम शुरु गरेको हो ।
तपाईं र तपाईंले नेतृत्व गरेको संस्थाको लोकप्रियता दैनिकरुपमा बढेको छ नि, किन होला ?
खासमा यसको जस म सर्वसाधारणलाई नै दिन्छु । मैले संस्थामार्फत समाजसेवाका कामलाई प्राथमिकता दिएको छु । जहाँका नागरिकलाई स्वास्थ्य सेवा चाहिन्छ, त्यहाँ स्वास्थ्य शिविर संचालन गराएर बिरामीलाई राहत हुने काम गरिरहेको छु । आर्थिक अवस्था कमजोर भएका नानीबाबुहरुलाई पढ्न लेख्नका लागि सकेको शैक्षिक सामाग्रीहरु प्रदान गर्ने काममा संस्था सक्रिय छ । त्यसैले होला, सबैले माया गर्नुहुन्छ ।
अरुले दिएको सहयोगबाट संस्थाको नाम प्रचार गरेको भन्ने केही व्यक्तिहरुले आरोप पनि लगाइरहेका छन् नि, के भन्नु हुन्छ ?
भन्नेहरुले जे पनि भन्छन् । यथार्थ के हो बुझ्नका लागि मसँग सोध्न सकिन्छ । मैले आफूले सकेको सहयोग गरेको हो । यसका लागि आर्थिक पक्ष पनि जोडिन्छ । दाताहरुले तपाईंको कामप्रति खुशी छौं भन्दै सहयोग दिनुहुन्छ । मैले त्यो सहयोग सबै नागरिकका लागि खर्च गरेको छु । मैले आफ्नो लागि कुनै खर्च छुट्याएको छैन । अब आरोप लगाउनेहरुका लागि मेरो भन्नु केही छैन ।
अबको लक्ष्य के छ त ?
हामीले विगतमा जति समाजसेवाका काम गर्यौं, ती कामलाई निरन्तरता दिनेछौं । ५ वटा जिल्लामा काम शुरु गर्ने सोच अघि बढाएका छौं । यसका लागि काभ्रे, रामेछाप, नुवाकोट, धादिङ र सिन्धुपाल्चोकमा संस्थाका सम्पर्क कार्यालय खोल्ने र त्यहाँ अस्पतालहरु खोलेर काम गर्ने सोच लिएका छौं ।
तपाईंले दाताहरु चाहिँ कसरी खोज्नुहुन्छ नि ?
मेरो कामलाई विश्वास गर्छन् । मैले आर्थिक मामिलामा तलमाथि गर्दिनँ । लक्षित वर्गसम्म कामहरु पुर्याउँछु । हामीहरुले समन्वय गर्ने गरेका छौं । खासमा मैले केही पाउँछु भनेर काम गर्नु भन्दा पनि अरुको सेवा गर्दै जाँदा एक दिन सफलता पाइन्छ भन्ने उद्देश्य हो । दाताहरुका लागि यसले निकै ऊर्जा मिल्ने रहेछ । मैले मागेर दिनुस् अहिलेसम्म कसैलाई भनेको छैन । उनीहरु नै हामी सहयोग गर्छौं भनेर आउँछन् । त्यसैले त काम गर्न सहज भएको छ नि ।
संस्थाले धेरैजसो व्यक्तिहरुलाई सहयोग बाँड्दै गरेको छ, उनीहरुलाई आत्मनिर्भर बनाउन पनि संस्थाले केही गर्दैछ कि ?
खासमा हामीले यसअघि धेरै सहयोग र राहात सामाग्री वितरण गर्यौं, तर अब हामी उनीहरुलाई सहयोग दिनेभन्दा पनि उनीहरुलाई काम सिकाउने रणनीति तय गर्दैछौं । मान्छेलाई दिएर कहिल्यै पुग्दैन । तर ऊ आफ्नो खुट्टामा टेक्न सक्ने भयो भने उसले हामीलाई सधैं सम्झन्छ नि ।
सफलताको कामना, कुराकानीका लागि समय दिनुभयो, धन्यवाद ।
मेरो र संस्थाका बारेमा जानकारी दिने अवसर दिनु भएकोमा तपाईं र तपाईंको संचार माध्यमलाई पनि धेरै धेरै धन्यवाद ।
डा. दिलबहादुर थोकर
अध्यक्ष
कान्छीमाया तामाङ फाउण्डेशन, धुलिखेल