30/08/2025
पात पतिङ्गर सबैनै : आयुर्वेदमा जडीबुटी
प्राकृतिक रूपमा पाइने खानामा प्रकृतिले कुनै विशेष सुरक्षात्मक तत्वहरू राख्दैन, त्यसैले ती पदार्थहरू मानिसका लागि सिधै खान मिल्ने वा सामान्य प्रसोधनपछि सुरक्षित रूपमा सेवन गर्न सकिने हुन्छ। तर आयुर्वेदमा प्रयोग हुने जडीबुटीहरू अलि फरक हुन्छन्। यस्ता जडीबुटीमा प्रकृतिले आफ्नै सुरक्षात्मक तत्वहरू—जस्तै अल्कलॉइड—राखेको हुन्छ, जसले ती बोटबिरुवामा रहेको औषधीय सारतत्व र पोषणलाई कीट वा रोगाणुबाट जोगाउने काम गर्छ।
यही कारणले एउटै जडीबुटी विभिन्न प्रकारको प्रसोधन (processing) पछि फरक–फरक प्रकृतिको औषधि बन्न सक्छ। तर ब्रह्माण्डको यो गहिरो नियम नबुझेर, कतिपय मानिसले केवल नाम सुनेको आधारमा कुनै जडीबुटीलाई शुद्धीकरण नगरी सिधै प्रयोग गर्दा त्यसले उल्टै हानि पुर्याएको पाइन्छ। कारण, ती सुरक्षात्मक तत्वहरू नै मानिसको शरीरमा अशुद्ध रूपमा प्रवेश गर्दा विषाक्त बन्न सक्छन्। त्यसैले, जडीबुटीलाई सुरक्षित र प्रभावकारी बनाउन प्रयोग गर्नु अघि विशेष विधिबाट शुद्धीकरण (शोधन) गर्नु अत्यावश्यक हुन्छ।
उदाहरणका लागि भलायो (भल्लातक) जडीबुटी प्राकृतिक रूपमा मुटु–विषाक्त हुन्छ । तर शुद्धीकरणपछि यसैबाट क्यान्सर विरोधी औषधि बनाउन सकिन्छ। यसले ट्युमर घटाउने र कीमोथेरेपीपछि रिकभरीमा मद्दत गर्ने देखिन्छ। त्यस्तै, धतुरा प्राकृतिक रूपमा न्यूरोटोक्सिक हुन्छ । तर शुद्धीकरणपछि यसबाट कनकासव (Kankasava) नामक औषधि तयार हुन्छ, जसले ब्रोंकोडाइलेटरको काम गर्छ। एलर्जी वा साइनोसाइटिसमा उपयोगी हुन्छ।
यस्तै, आधुनिक चिकित्सामा प्रयोग हुने शक्तिशाली औषधिहरू पनि प्राकृतिक स्रोतबाट आएका छन्। जस्तै ट्याक्सस बकाटा (Taxus baccata) रूखको बोक्राबाट विश्वप्रसिद्ध क्यान्सर औषधि Paclitaxel (Taxol) बनाइन्छ। सर्पगन्धा (Rauwolfia serpentina) बाट मानसिक रोग र उच्च रक्तचापमा प्रयोग हुने Reserpine औषधि तयार भएको हो। यी उदाहरणहरूले देखाउँछन् कि विषाक्त लाग्ने जडीबुटी पनि जब योग्य विधिबाट शुद्ध र प्रशोधन गरिन्छन् तब जीवनरक्षक औषधिमा परिणत हुन्छन्।
आयुर्वेदको औषधि (ओखति) कहिलेकाहीँ कसैमा प्रभावकारी नहुनुको कारण अधुरो वा गलत प्रयोग हो। जब मूल सिद्धान्त नबुझी कच्चा रूपमा प्रयोग गरिन्छ, तब हानिकारक नतिजा आउन सक्छ। खेतीबारी वा जमिनमा अनावश्यक रूपमा उम्रिने झार/घाँसलाई सामान्यतया “पात पतिङ्गर” भनिन्छ, तर ती सबै सधैं नोक्सान गर्ने हुँदैनन्। कतिपय हानिकारक हुन्छन्, कतिपय सामान्य खानाका रूपमा प्रयोग गर्न सकिन्छन्, र धेरैजसो औषधीय रूपमा अत्यन्त लाभदायक हुन्छन्। हाम्रो गाउँघरमा सहजै पाइने भुइँ अमला, चिराइतो, गोखुरु, धतुरो(Datura), लट्टे – लुँडे झार, दुधे झार (Dandelion), दुबो, कुश, पाती, गन्दे जस्ता बोटबिरुवाहरू पात पतिङ्गरकै रूपमा देखिए पनि औषधीय दृष्टिले अमूल्य खजाना हुन्।
भुइँ अमला (Phyllanthus niruri) जण्डिस र कलेजो रोगको शत्रु मानिन्छ। यसको पात वा जरा उमालेर खाने गरे कलेजो सफा हुन्छ र पित्त प्रणाली सुदृढ हुन्छ। चिराइतो (Swertia chirata) अत्यन्त तीतो भए पनि ज्वरो घटाउने प्राकृतिक औषधि हो। गाउँमा ज्वरो आउँदा चिरायताको काढा पिउने चलन अझै छ। गोखुरु (Tribulus terrestris) मूत्र प्रणालीका रोगमा लाभदायक हुन्छ। पेशाबमा जलन वा पथरी भएको अवस्थामा गोखुरुको सेवनले आराम मिल्छ। धतुरो (Datura) कच्चा रूपमा विषाक्त हुन्छ, तर शुद्धीकरणपछि यसैबाट बनेको कनकासव औषधि श्वासप्रश्वास समस्या (Asthma, Bronchitis) र साइनोसाइटिसमा प्रयोग हुन्छ। भिँडी वा तरकारीसँगै उम्रने लट्टे - लुँडे झारको (Amaranthus sp.) पातलाई तरकारीको रूपमा खान सकिन्छ, जसले रगत शुद्ध गर्छ र शरीरलाई बल दिन्छ। दुधे झारको (Dandelion) जराबाट बनेको चिया कलेजो र मिर्गौलाको डिटोक्समा प्रयोग हुन्छ। आयुर्वेदमा दुधे झार पाचनशक्ति बढाउने औषधि मानिन्छ।
हिन्दू संस्कृतिमा पूजा–पाठमा प्रयोग हुने घाँस दुबो (Bermuda Grass) रक्तस्राव रोक्ने र मुखको फेसको छालामा हुने रोगमा प्रभावकारी हुन्छ। वैदिक संस्कृतिमा पवित्र मानिने कुश (Desmostachya bipinnata) आयुर्वेदमा पाचन सुधार र रक्तचाप नियन्त्रणमा प्रयोग हुन्छ।
तिते पाती (Mugwort - Artemisia vulgaris) झार पेट दुखाइ वा सामान्य संक्रमणमा उपयोगी हुन्छन्। दक्षिण कोरियामा तिते पाती लाई "स्सुक (쑥) “ भनिन्छ। यसलाई विभिन्न परिकारहरूमा जस्तै पिउने सुप (स्सुकगुक), चामलका परिकार वा ढक–ढक (ट्टोक), चिया, र प्यानकेक (जोन) मा प्रयोग गरिन्छ।
यसमा स्वादमा अलिकति तीतोपन भएको माटोको गन्ध सहितको जडीबुटीजन्य सुगन्ध हुन्छ। शरीरलाई विषमुक्त बनाउन मद्दत गर्ने र जीवनशक्ति बढाउने औषधीय गुणका कारण यसलाई खानामा राखेर खानको लागि अधिक महत्व दिइन्छ। गन्धे झार (Ageratum conyzoides) लाई परम्परागत रूपमा घाउ निको पार्न, छालासम्बन्धी रोगमा, ज्वरो घटाउन, टाउको दुखाइ कम गर्न, श्वासप्रश्वासका समस्या तथा पाचनसम्बन्धी गडबडीमा प्रयोग गरिन्छ।
यी सबै उदाहरणहरूले देखाउँछन् कि खेतीबारी वा जमिनमा अनावश्यक रूपमा उम्रिने भनिएका झारहरूको आफ्नै ओखतिय मूल्य छ।
योग्य व्यक्ति, वैद्यहरु सँग सल्लाह गरेर, सही पहिचान गरेर र शुद्धीकरण विधि अपनाएर प्रयोग गरियो भने यी बोटबिरुवाले जीवनलाई स्वस्थ, सन्तुलित र चेतनशील बनाउन ठूलो भूमिका खेल्छन्।
आयुर्वेद लाई यसरि यसरी उपयोग गर्न सक्दा यो केवल रोग निको पार्ने प्रणाली मात्र नभई समग्र जीवन विज्ञान (science of life) को कडीको रूपमा स्थापित गराउन सकिन्छ।
C.p. Narayan G