
22/10/2023
राष्ट्रपति पौडेलको टिका बहिष्कार गरौँ – किन?
(मन परे व्यापकरूपमा श्यर गरिदिन आग्रह सहित)
१। राष्ट्रपतिको संस्था सबैको अभिभावक हुनु पर्ने हो। तर गणतन्त्रले ३ जना राष्ट्रपति पाइसक्दा ती सबै पार्टी, गुट र नेताका भए – देशका भएनन्।
अब त झन सबै पार्टीले जटील समयमा राष्ट्रपति किन “आफ्नै मान्छे” हुन पर्दोरहेछ भन्ने बुझिसकेकाले भविष्यमा यो स्थिति सुध्रिने कुनै संभावना छैन। “राष्ट्र र राज्य”को रूपमा नेपालको क्षयीकरण चरम र भयावह स्थितिमा छ।
२। त्यसमाथि हालै संविधान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी पाएको ब्यक्तिले जेलबाट मुक्त भएको केही हप्तामै घाँटी काटेर रूकुममा एक महिलाको हत्या गरेको घटना ताजै छ।
त्यसैगरी पौडेलले नै दिऊँसै खुँडा हानी व्यक्ति हत्या गर्ने गुण्डा नाइकेलाई पनि कैद माफी गरीदिए। ती जघन्य अपराधीको मात्र हैन, सजायाँ माफी दिएर चोख्याउन खोज्ने राष्ट्रपतिको हातमा पनि आलो रगत लतपतिएको छ।
३। असत्यमाथि सत्यको जीतको प्रतिकका रूपमा मनाइने बडादशैँको मुखमा राष्ट्रपतिले गरेको उक्त 'पाप-कर्म' आम-जनताबाट कसैगरी अनुमोदन हुनु हुँदैन। देश बनाउने आदर्शको कुरा गर्ने अनि देखादेख पीडितको आलो घाऊमा नुन-चुक छर्किने?
४। राष्ट्रपति पौडेलले आह्वान गरेको दशैँको टीका लगाइदिने कार्यक्रमलाई यस पटक सबै आम सर्वसाधारणले वहिष्कार गरेर उनलाई उनको 'पाप-कर्म' को नैतिक सजायँ दिऊँ। यसले चीरकालसम्मका लागि नेपालको राजनीतिमा एउटा अर्थपूर्ण सन्देश दिनेछ।
५। हामीले यस्ता किसिमका भद्र अवज्ञाहरू गर्न सकेको भए हजारौँ निहत्था नेपालीको ज्यान लिने जघन्य अपराधीहरू सत्तामा पुगेर दशकौँसम्म राज्य लूट मच्चाउन पाउँदैनथे। अपराधको यो हदको सामान्यीकरण हुन पाउँदैनथ्यो। अपराधीहरू सत्तामा हैन, जेलको कालकोठरीमा हुने थिए। अनि जघन्य अपराधीलाई सेटिङ्गमा कैदमाफी दिने हिम्मत कसैको हुँदैन्थ्यो।
त्यसैले फेरी दोहोऱ्याउँ: राष्ट्रपति पौडेलले आह्वान गरेको दशैँको टीका लगाइदिने कार्यक्रमलाई वहिष्कार गरौँ। उनलाई 'पाप-कर्म' को नैतिक सजायाँ दिऊँ र सिङ्गो राजनीतिक वृत्तलाई भद्र अवज्ञाको शक्ति एकपटक देखाइदिऊँ। अति भइसक्यो!