25/02/2026
सङ्खुवासभा जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक मत बढ्ने ।
सङ्खुवासभा — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सङ्खुवासभाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक मत उल्लेखनीय रूपमा बढ्ने आकलन गरिएको छ।
गत २०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका युवा नेता तेन्जिङ भोटियालाई यसपटक पार्टीले समानुपातिक बन्दसूचीमा राखेको छ। सो निर्णयपछि जिल्लामा समानुपातिकतर्फ राप्रपाको मत बढ्ने विश्लेषण गरिएको छ।
भोटखोला गाउँपालिकाका प्रतिनिधि मानिने तेन्जिङ भोटिया अल्पसंख्यक तथा सिमान्तकृत समुदायको आवाजका रूपमा चिनिन्छन्। लामो समयदेखि शैक्षिक क्षेत्रमा सक्रिय उनले जिल्लाका असहाय तथा पिछडिएका वर्गका पक्षमा काम गर्दै आएका छन्।
स्थानीय तथा परम्परागत मदिराको संरक्षण र प्रवर्द्धनका लागि निरन्तर आवाज उठाउँदै आएका उनले राप्रपाको घोषणापत्रमा समेत स्थानीय मदिरा प्रवर्द्धनसम्बन्धी विषय समावेश गराउन भूमिका खेलेको बताइन्छ। यसले उक्त क्षेत्रसँग आबद्ध समुदायमा सकारात्मक सन्देश गएको स्थानीयको भनाइ छ।
यसै आधारमा, आगामी निर्वाचनमा सङ्खुवासभाबाट राप्रपाले समानुपातिकतर्फ सन्तोषजनक मत प्राप्त गर्ने अनुमान गरिएको छ।