09/10/2023
स्वास्थ्यसंस्थामा भइरहेको हिंसा र लापरबाहीको आरोपको कारण हिजो र आजका सिनमा प्रत्यक्ष मैले अनुभुत गरेका परिवर्तनहरु,
१. केही रोग छुटिहाल्यो भने समस्या गर्छन भनेर पहिलेको तुलनामा झन्डै दुइगुना वा ज्यादा जाँच हुनेरहेछ। दोहोर्याएर गर्ने जाँच पनि चाँडो-चाँडो। ज्यादा खर्च।
२. सिकिस्त बिरामी आइसियुमा आवस्यकता भन्दा औसत ३-४ दिन ज्यादा बस्ने रहेछन्। बाहिर निकालिसकेपछि समस्या भयो भने बेला नभइ किन निकालेको भन्छन्।
३. बिरामी पुर्ण निको हुन्जेल भर्ना बस्ने रैछन्। पहिलाको तुलनामा औसतमा ५ दिन ज्यादा। डिस्चार्ज पछि समस्या परे लफडा हुन्छ भनेर।
४. गम्भीर बिरामी आए भने बिरामी बचाउने भन्दा आफ्नु ज्यान बचाउने चिन्ता ज्यादा। ठुलो ठाउँ वा अर्को डाक्टरको नाम देखाएर बिरामी पन्छाउने। हौसलापुर्बक बिरामीको उपचारमा मन नजाने रैछ। सिकिस्त बिरामी देख्नेबित्तिकै उपचार सफल भएन भने पत्रिकामा आफ्नो बदनामी र अस्पताल फोडेको, पैसा तिरेको समाचारको झल्को आउनेरैछ।
५. औसतमा दस प्रतिशत मात्र पनि रिस्क भएको अपरेसन गर्न समेत हात काम्ने रैछ। दस प्रतिशत भनेको १० वटा अपरेसनमा १ जना मर्न सक्ने हो। त्यो १ पहिलो नि हुनसक्छ, पचासौं पनि। बरु अरुले रिस्क लिओस भन्ने हुने रहेछ।
६. MBBS, र MS को ज्ञानको आधारमा उपचार गर्न सकिने बिरामीको समस्या पनि अर्को बिशेषज्ञकोमा रिफर गर्नुपर्ने हुनेरहेछ। जस्तो न्युरोसर्जनले ब्लड प्रेसर सामान्यतया उपचार गर्न सक्छ, तर फेरि समस्या पर्यो भने मुटुरोग नदेखाएको बात लाग्छ भनेर प्रमाण राख्न पनि रिफरल गर्नुपर्ने हुनेरहेछ। अर्थात् एउटा रोगको उपचारमा अनावस्यक अरु २-३ जना कन्सल्ट्यान्टकहाँ रिफरल।
७. उपत्यकाबाहिर सजिलै बायाँ हातले गर्ने उपचार पनि कोही जान्ने पल्टिएर काठमान्डौ को कुरा गर्यो भने, दस हात जोडेर "जानुस हजुर" भन्नुपर्ने भएछ। अनावस्यक पैसा खर्च, काठमाडौँमा अनावस्यक भीड।
८. एकदमै नजिकको परिवार, साथीभाइ बाहेक अरुले कुनै स्वास्थ्य जिज्ञासा राखेभने, थाहा भएको जानकारी पनि आफ्नो बिशेषज्ञतामा पर्दैन भने, "त्यही रोगको बिशेषज्ञलाइ देखाएर सोध्नुस" भन्नेबेला भएछ।
९. चिनेका, ठालूका वा नेताका सोर्सफोर्सवाला आए भने त अति नै सामान्य रोगमा पनि चार हातपाउ जोडेर, "म त फुच्चे हुँ, मलाइ समेत उपचार सिकाउने गुरुकोमा जानुस", भन्ने बेला भएछ।
अर्थात्, स्वास्थ्यकर्मीले आजकल बिरामी बचाउने भन्दा ज्यादा आफ्नो टाउको कसरी जोगाउनेमा ध्यान केन्द्रित गर्नुपर्ने भएछ। यसैलाइ "Defensive Medicine" भनिन्छ। स्थिति झन खराब हुने छाँटकाट आउँदैछ। प्राणीको स्वाभाव हो, मन जति दवावमा रहन्छ, दिमागले उति कम काम गर्छ। मन जति स्वच्छन्द छ, गरेको काम उति नै राम्रो हुन्छ।