14/05/2026
धुलिखेल नगरपालिका र केएमसी–दुवाकोटबीच छुट सम्झौता
धुलिखेलवासीलाई काठमाडौं मेडिकल कलेज दुवाकोटमा विशेष सहुलियत उपचार
काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल दुवाकोट, भक्तपुर र काभ्रेको धुलिखेल नगरपालिकाबीच नगरवासी तथा कर्मचारीहरूलाई विशेष छुटसहित सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापछि धुलिखेल नगरपालिकाका स्थायी बासिन्दा, जनप्रतिनिधि, कर्मचारी तथा उनीहरूका परिवारले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल दुवाकोटमा विभिन्न उपचार तथा परीक्षण सेवामा विशेष छुट सुविधा पाउने भएका छन् । अस्पतालले नगरपालिकाका नागरिकलाई प्राथमिकताका साथ सेवा प्रदान गर्नेछ भने आवश्यक विशेषज्ञ सेवा, उपचार तथा स्वास्थ्य परीक्षणमा सहुलियत दिइने जनाएको छ ।
सम्झौताअनुसार बिरामी दर्ता कार्ड निःशुल्क, जनरल बेड शुल्कमा २५ प्रतिशत, क्याबिन शुल्कमा १० प्रतिशत तथा आईसीयू, एचडीयू, सीसीयू र अपरेशन थिएटर सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ । त्यसैगरी प्रयोगशाला परीक्षणमा ५० प्रतिशत, सिटी स्क्यान तथा एमआरआईमा २५ प्रतिशत (फिल्म शुल्क बाहेक), एक्स–रे, अल्ट्रासाउन्ड, डेन्टल एक्स–रे तथा ओपीजीमा २५ प्रतिशत छुट दिइनेछ । ईसीजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, एनपीएल प्रक्रिया, इको, टीएमटी, होल्टर, एबीपीएम, ईईजी, एनसीटी, एनएसटी लगायत परीक्षण सेवामा २५ प्रतिशत छुट रहनेछ । फिजियोथेरापी, दन्त उपचार (सामग्री लागत बाहेक), ईआरसीपी, एमआरसीपी तथा क्याथ ल्याब सेवामा समेत २५ प्रतिशत छुट प्रदान गरिनेछ । तर क्याथ ल्याब सामग्री, स्टेन्ट, गाइड वायर, बलुनलगायत उपभोग्य सामग्री तथा प्रत्यारोपण सेवामा भने छुट हुने छैन ।
छुट सुविधा लिन नगरपालिकाको सिफारिस वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । स्थायी बासिन्दाले नागरिकता प्रमाणपत्र र १६ वर्षमुनिका बालबालिकाले जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ । सम्झौता २०८३ जेठ ४ गतेदेखि २०८३ चैत ३० गतेसम्म लागू रहने तथा आवश्यकताअनुसार दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिने जनाइएको छ ।
सम्झौताअनुसार नगरपालिकाका बासिन्दामध्ये उपचारका लागि आउने पहिलो २० जनालाई अस्पतालमा उपलब्ध सेवामा २०८३ असार मसान्तसम्म शतप्रतिशत छुट प्रदान गरिनेछ । त्यसैगरी २०८३ असार मसान्तसम्म उपचारका लागि आउने अन्य सेवाग्राहीलाई ५० प्रतिशत छुट उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका तर्फबाट प्रशासकीय प्रबन्धक अर्चना थापा र जनसम्पर्क प्रमुख सुधा कट्टेलले हस्ताक्षर गरेका छन् भने धुलिखेल नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख निराजन जंगम तथा नगर स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले हस्ताक्षर गरेका छन् । यो सम्झौताले धुलिखेल नगरपालिकाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र सहुलियत दरमा उपलब्ध गराउन थप सहयोग पुग्ने अपेक्षा केएमसीले गरेको छ