10/04/2025
"वायु प्रदूषणको वर्तमान स्तरले क्यान्सर, हृदय रोग र पक्षघातको जोखिम बढाउँछ" : डा. मनोज यादव
अहिले काठमाडौँको वायु प्रदूषणको स्तर बढ्दै गएको छ। यसको मापन ‘पीएम’ (पार्टिकुलेट म्याटर) को रूपमा गरिन्छ, जसको मात्रा २.५ माइक्रोन भन्दा कम भएमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ। यो प्रदूषण फोक्सोमा बस्ने भएकाले अन्य स्वास्थ्य समस्याहरू पनि निम्त्याउँछ। विशेष गरी, दीर्घकालीन रोगी, महिलाहरू र बालबालिकामा यसको प्रभाव बढी पर्न सक्छ।
वातावरण प्रदूषणको मापनको लागि विश्वव्यापी रूपमा ‘एक्यूआई’ (एयर क्वालिटी इन्डेक्स) प्रयोग गरिन्छ। यस मापदण्डअनुसार अहिले काठमाडौँको एक्यूआई २ सय भन्दा माथि पुगेको छ, जसलाई अति अस्वस्थ मानिन्छ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, वायुको गुणस्तर सूचकांक ० देखि ५० सम्मलाई स्वास्थ्यको लागि राम्रो, ५१ देखि १०० मध्यम, १०१ देखि १५० संवेदनशील समूहका लागि अस्वस्थ, २०१ देखि ३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि स्वास्थ्यका लागि खतरनाक स्तर मानिन्छ।
दक्षिण एशिया, पूर्वी एशिया र उत्तर अफ्रिका वायु प्रदूषणका दृष्टिकोणले बढी प्रभावित क्षेत्रहरू रहेका छन्। वायु प्रदूषणका कारण प्रत्येक वर्ष लगभग ५० लाख मानिसको मृत्यु हुने तथ्यांक छ, जसले गम्भीर अवस्था जनाउँछ। यो मृत्युदरमा ८९ प्रतिशत मानिस गरिब देशका हुन्छन्, जसको अर्थतन्त्र कमजोर छ।
मानव स्वास्थ्यका लागि हानिकारक वायु प्रदूषणको मुख्य कारण सवारी साधनबाट निस्कने धुँवा, औद्योगिक गतिविधिबाट उत्पन्न हुने धुँवा र धुलो, वनमा लाग्ने डढेलो, दाउरा र स्टोभको प्रयोग, साथै निर्माणजन्य कामका क्रममा निस्कने धुँवा र धुलो हुन्। यी गतिविधिहरूले कार्बनमोनोअक्साइड, ओजोन र सल्फरडाइअक्साइड जस्ता हानिकारक र विषाक्त पदार्थहरू वातावरणमा पदार्थ निस्कने भएकाले मानव स्वास्थ्यलाई असर गर्छ ।
वायु प्रदूषणले विभिन्न रोगहरूको जोखिम बढाउँछ, विशेष गरी फोक्सो सम्बन्धी रोगहरूमा। यसले दम रोगीहरूमा "प्री म्याचुअड डेथ" (अकाल मृत्यु) को जोखिम २३ प्रतिशतले वृद्धि गर्छ, विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसार। यसको अर्थ, दम रोग लागेका व्यक्तिहरूलाई अझै केही वर्ष बाँच्ने सम्भावना हुँदा पनि वायु प्रदूषणले त्यो सम्भावना कमजोर बनाउँछ र त्यसका कारण प्रायः अकाल मृत्यु हुन सक्छ।
यस्तै, यस्तो प्रदूषणले धुम्रपान नगर्ने व्यक्तिहरुमा पनि फोक्सोको क्यान्सर हुने जोखिम बढाउँछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार धुम्रपान नगर्ने तर, फोक्सोको क्यान्सर लागेकाहरुमध्ये यस्तो प्रदूषणले ६ प्रतिशतमा ‘प्री म्याचुअड डेथ’को जोखिम रहन्छ ।
यी बाहेक, आस्थमा, एलर्जी, आँखा–नाक–घाँटीमा समस्या आउने जस्ता कुरा पनि छन् । सँगै, मुटुमा पनि प्रभाव पर्छ । ‘हर्ट अट्याक’को जोखिमसँगै रक्तनली साँघुरिने हुँदा ‘स्केमिक हार्ट डिजिज’को जोखिम बढाउँछ । मुटु सम्बन्धि रोगबाट रोगबाट हुने मृत्युदरमा यस्तो प्रदूषणले १२ प्रतिशत जोखिम बढाउने अध्ययनले देखाएको छ ।
यस्तै, पक्षघातको पनि जोखिम बढाउँछ । वायु प्रदूषणले पक्षघातको जोखिम २३ प्रतिशतले बढाउने र पक्षघातका बिरामीमा ‘प्री म्याचुअड डेथ’को जोखिम अन्यको तुलनामा १२ प्रतिशतले बढाउने विश्व स्वास्थ्य सङ्गठनको अध्ययनले देखाएको छ ।
स्वास नलीमा हुने इन्फेक्सनमा पनि यस्ता खालका वायु प्रदूषणले सामान्य अवस्थाको तुलानामा २१ प्रतिशतले जोखिम बढाउँछन् । यसकारण अहिलेको अवस्था भयाबह छ, यसलाई ठूलो महत्व दिएर बच्ने उपायतर्फ केन्द्रित हुनु आवश्यक देखिन्छ ।
प्रदूषण कम गर्न के गर्न सकिन्छ ?
सबैभन्दा पहिला त नीति नै चाहिन्छ । अर्को कुरा, जति पनि धुँवा निस्कने गतिविधि हुन्छन्, तिनलाई कम गर्नुपर्छ । काठ, दाउरा नजलाउने, डिजेल मट्टितेलको प्रयोग घटाउँदै लैजाने गर्नुपर्छ ।
साथै, सवारी साधनमा प्रदूषण मापदण्ड कडाइका साथ कार्यान्वयन गर्नु आवश्यक देखिन्छ । मापदण्डभन्दा बढी धुँवा फालेका सवारी साधनको प्रयोग हुन नदिने, व्यक्तिगत प्रयोगका स्टोभ जस्ता साधनहरुलाई कम धुँवा फाल्ने गरी मर्मत गरेर मात्रै प्रयोग गर्ने जस्ता विधिहरु अपनाएर प्रदूषण कम गर्न सकिन्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको, ‘क्लिन इनर्जी’को खपत बढाउने नै हो । सोलार, विद्युत जस्ता इन्धनका स्रोतहरुको उपयोगमा बढावा दिन सकियो भने पनि पर्यावरण दूषित हुन रोकिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ वृक्षारोपण हो । रुख विरुवा रोप्ने, हुर्काउने कुरा नै यस्ता प्रदूषण न्यूनीकरण गर्ने सबैभन्दा महत्वपूर्ण उपाय हो ।
अहिलेको वायु प्रदूषणबाट बच्ने उपायहरू
अहिलेको वायु प्रदूषणले मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ, जसका कारण विभिन्न स्वास्थ्य समस्याहरू देखिन थालेका छन्। अस्पतालहरूमा बिरामीहरूको संख्या पनि बढिरहेको छ।
यसबाट बच्नका लागि, सकेसम्म घर बाहिर ननिस्कनु नै उत्तम हो। अनावश्यक रूपमा सवारी साधन चलाउनबाट बच्नुपर्छ। यदि बाहिर जानै पर्छ भने, मास्क लगाएर मात्र निस्कनु सुरक्षित हुन्छ।
त्यस्तै, डढेलो लाग्न नदिने र यसको सम्बन्धमा सचेत रहनु आवश्यक छ। इन्धन (डिजेल, मट्टितेल, दाउरा) को प्रयोग अनावश्यक स्थानमा गर्नु हुदैन । यी थोरै प्रयासहरूले पनि अहिलेको वायु प्रदूषणबाट केही हदसम्म बच्न मद्दत पुर्याउँछ।