28/09/2025
निधारभरि रातो टीका, भारी मन, हातमा सम्मान पत्र र बुकी बोकेर एक व्यक्ति अस्पताल भवनबाट बाहिरिए। सिँढी झरेर फरक्क फर्किए, पुलुक्क टाउको उठाएर अस्पतालको बोर्ड नियाले। हातमा बोकेका सामान सिँढीमा राखे। बोर्डतिरै फर्किएर दुई हात जोडेर नमन गरे। अनि दण्डवत् झुकेर आँगनमा शिर राखेर ढोगे।
यो दृश्य रोल्पा अस्पताल रेउघाको हो। दृश्यमा देखिएका व्यक्ति रोल्पा थवाङका उमेश कालामगर हुन्। रेडियोग्राफर निरीक्षक(छैटौँ तह अधिकृत) काला मगर १० वर्ष रोल्पा अस्पतालमा सेवा गरेका थिए। त्यही अस्पतालबाट बिदा हुँदा कालामगरले यसरी भावुक लिएका हुन्। जसको चर्चा अहिले जिल्लाभर चलिरहेको छ।
‘लामो समय मनदेखि काम गरेको संस्थाबाट बिदाइ हुँदा नमिठो लाग्दो रहेछ,’ कालामगरले भने, ‘रोल्पा अस्पताल मनमा सधैँ रहिरहनेछ ।’ उनले आफू अस्पतालमा कार्यरत रहँदा राम्रो गर्ने प्रयासकै रूपमा काम गरेको बताए। ‘यहाँबाट मिठो सम्झना बोकेर जाँदै छु’, उनले भने।
दुर्गमको यो अस्पतालमा काला मगर २०७२ साल फाल्गुन १८ गते हाजिर भएका थिए। त्यसअघि रोल्पा अस्पतालमा कार्यालय सहयोगीको भरमा भिडिओ एक्स-रे सेवा चलिरहेको थियो। उनी आइसकेपछि मात्रै यहाँ बिरामीले उक्त सेवा सहज रूपमा पाउन थालेका थिए। ‘रोल्पा अस्पतालमा रेडियोग्राफर नै थिएन। कसैलाई पनि दरबन्दी छ भन्नेसमेत थाहा थिएन’, कालामगरले भने, ‘किताब खानामा दरबन्दी नै थिएन। त्यहाँ दर्ता गर्न लगाएर सरुवा गरेको थिएँ।’
त्यसरी सेवा गर्न पाउनु पनि उनले आफ्नो भाग्यकै रूपमा लिएका छन्। उनले भने, ‘रोल्पाको सेवा गर्न पाउनु मेरो भाग्य थियो। १० वर्ष खुसी भएरै बसे। यस दौरान ६० भन्दा बढी रोल्पालीको एक्स-रे गरेको छु। आफ्नै ठाउँमा सेवा गर्न पाउनु पनि ठुला कुरा हो।’
सेवाकालमा रोल्पाली जनताले आफूलाई उस्तै माया गरेको पनि कालामगरको अनुभव छ। ‘यहाँ माया पाएँ। मनदेखि काम गरेँ,’ उनले भने। अब भने उनी घर नजिक पर्ने गरी रुकुम सरुवा गएका छन्। उनी भन्छन्, ‘रोल्पा अस्पतालसँग गुनासो भएर सरुवा मागेको होइन। अब घर पायक भनेर रुकुम आएको हुँ, परिवारको सहजताका लागि।’
https://nagariknews.nagariknetwork.com/social-affairs/the-healthcare-worker-who-bows-at-the-hospital-door-the-one-who-once-had-a-gun-in-his-hand-34-47.html?fbclid=IwVERDUANF5oBleHRuA2FlbQIxMQABHjk81yrG88qYhrHTOWp5nqWGEwDOzsCHy0Jo9FyBH4cbqgtALLLvw9P_k885_aem_xjAfvqXLk2o2gbWb4W8WzQ