03/03/2026
मानिसहरू ब्रम्हाण्डका सबैभन्दा अचम्मका, विरोधाभासी र अलमलिएका प्राणी हुन्। पहिले उनीहरू बालीमा कीटनाशक र विषादी छर्कन्छन । कीरा, फट्याङ्ग्रा¸झिँगा लगायतका हानिकारक जीवहरू मार्छन। यसो गर्नुलाई उनीहरू वैज्ञानिक प्रगति र खाध्य सुरक्षा ठान्छन् । त्यसपछि कुनै चिन्तन नगरी बाली काट्छन्, पकाउँछन र खान्छन् । बच्चाहरूलाई खुवाउँछन । बृद्द आमाबाबुको थालमा राख्छन । भगवानलाई धन्यवाद दिँदै त्यही खानालाई “पोषण” भन्छन्। वर्षौँपछि जब शरीर भित्रैबाट बिग्रन थाल्छ । क्यान्सर, मधुमेह, बाँझोपन, हर्मोनको गडबडी, दम र दीर्घ रोगहरू बढ्न थाल्छ । उनीहरू अचम्म मान्दै सोध्छन् “हामी किन बिरामी हुँदै गइरहेका छौँ ?”
हावा प्रदूषित पारेर बच्चाहरूमा दम बढेपछि अक्सिजन सिलिन्डर खोज्नु, जङ्क फुड खाएर रोग लागेपछि औषधिमा भर पर्नु¸ वन विनाश गरेर बाढी र खडेरी आएपछि प्रकृतिलाई दोष दिने जस्ता कार्य अज्ञानता होइन; जान्दाजान्दै गरिने, विवेकमाथि गरिने अत्याचार हो। प्रकृतिले मानिसलाई धोका दिएको नभै मानिसले आफैंलाई धोका दिएको हो। आज खेतमा छर्किएको विष भोलि थालमा आउँछ, र पर्सि रगतमा मिसिन्छ—यही सत्य बुझ्नु नै चेतनाको सुरुवात हो।