28/04/2026
देश छोड्न लागेको छोराको प्रधानमन्त्रीज्यूलाई लेखेको अन्तिम चिठी
सम्माननीय प्रधानमन्त्रीज्यू,
मेरो ढोग छ।
आज राति म सुत्न सकिरहेको छैन। किनभने यो मेरो कोठा हो, मेरो ओछ्यान हो, र सायद यो मेरो देशमा बिताउने अन्तिम रात हो। भोलि बिहान ४ बजे गाडी आउँछ। एयरपोर्टको लाइनमा उभिँदा मेरो हातमा पासपोर्ट होइन, आमाको काख रित्तो पार्ने टिकट हुनेछ।
आमाले थाहा पाउनुभएको छैन...
मैले आमालाई भनेको छु - "२ वर्षको कन्ट्रयाक्ट हो, कमाएर आउँछु।" तर मैले भन्न सकेको छैन कि खाडीको ५२ डिग्री घाममा मेरो छाला डढ्दा उहाँले लगाइदिएको गुन्यू च्यातिन्छ कि भनेर। मैले भन्न सकेको छैन कि त्यहाँ म 'भाई', 'दाई', 'छोरा' होइन, 'नम्बर ४५२' मात्र हुनेछु। आज आमाले मेरो मनपर्ने गुन्द्रुक-भात पकाउनुभएको छ। थाहा छैन, यो जुनिको स्वाद फेरि कहिले आउला।
बाले मुखले नभने पनि...
हिजो राति बा सुटुक्क मेरो कोठामा आउनुभयो। "बाबु, अलि पैसा चाहिन्छ भने भन है" भनेर १० हजार हातमा राखिदिनुभयो। त्यो पैसा उहाँले बाख्रा बेचेर राख्नुभएको थियो रे। मेरो आँखा रसाए। जुन बाले मलाई काँधमा बोकेर स्कुल पुर्याउनुभयो, आज उही बाको काँध ऋणले नुहेको छ। म विदेश जान लागेको खुसीमा होइन प्रधानमन्त्रीज्यू, बाको त्यो नुहेको काँध सोझो पार्न जाँदैछु।
मेरो सानो बहिनीले सोध्छे...
"दाइ, प्लेन चढेर गएपछि तिमीले मलाई बिर्सन्छौ?"
म के जवाफ दिऊँ? उसलाई थाहा छैन कि म उसकै स्कुलको फिस तिर्न १४ घण्टा ड्युटी गर्न जाँदैछु। उसलाई थाहा छैन कि दाजुको काख उसले अब मोबाइलको स्क्रिनमा मात्र पाउनेछे। उसको 'दाइ कहिले आउने?' भन्ने प्रश्नको उत्तर मसँग छैन। के तपाईंसँग छ प्रधानमन्त्रीज्यू?
मैले यो देशलाई के दिएँ र के पाएँ?
२० वर्ष यही माटोमा खेलें। १६ वर्ष यही देशको किताब पढें। डिग्रीको सर्टिफिकेटलाई प्लास्टिक कोट गरेर दराजमा राखेको छु - न खिया लागोस् भनेर। तर त्यो कागजले मलाई एक छाक भात दिन सकेन। मैले देशलाई मेरो जवानी दिएँ, देशले मलाई एयरपोर्टको बाटो देखायो। के मैले धेरै मागें? दुई छाक खान पुग्ने जागिर र बा-आमासँगै बस्न पाउने अधिकार मात्र त मागेको थिएँ।
प्रधानमन्त्रीज्यू, हामी मरेका छैनौं, मारिएका हौं।
हरेक दिन त्रिभुवन एयरपोर्टमा एक पुस्ता मलामीविना मरिरहेको छ। हाम्रो मलामीमा न आमा छन्, न बुवा। छ त केवल म्यानपावरको एजेन्ट र एउटा सुटकेस। हामी सुटकेसमा लुगा होइन, अधुरा सपना बोकेर जान्छौं। हामी फर्कन्छौं - तर काठको बाकसमा। अनि तपाईंहरु भन्नुहुन्छ - 'रेमिट्यान्सले अर्थतन्त्र धान्यो'। त्यो रेमिट्यान्स होइन प्रधानमन्त्रीज्यू, हाम्रो रगत, पसिना र आमाको आँसुको मूल्य हो।
म जानुअघि एउटा बिन्ती छ।
भोलि मेरो प्लेन उडेपछि, एकपटक पशुपतिको आर्यघाट जानुहोला। त्यहाँ हरेक हप्ता काठको बाकसमा फर्कने म जस्तै युवाको लास हुन्छ। त्यो लासलाई सोध्नुहोला - "बाबु, तँ किन फर्किस्?" उसले बोल्न सक्दैन। तर उसको चिसो शरीरले चिच्याएर भन्नेछ - "म रहरले गएको थिइनँ, देशले धकेलेर गएको थिएँ।"
म जाँदैछु। मेरो देशलाई मेरो अन्तिम सलाम छ।
यदि कहिल्यै यो देशमा फर्केर बाँच्न मिल्ने भयो भने, खबर गर्नुहोला। म त्यो दिन प्लेनको टिकट होइन, दौडेर आउनेछु।
तपाईंको देशको एक अभागी छोरा,
भोलि बिहान ८:३० बजे QR-652 फ्लाइटबाट देश छोड्दै गरेको एक लाचार युवा!
रचना : उत्तम निरौला।
यो पढेर तपाईंको आँखा रसायो भने सेयर गरिदिनुहोला। किनभने मेरो आवाज तपाईंहरु नै हो।