28/04/2025
https://www.facebook.com/share/p/1Ft56fdSaj/
मध्यविन्दु प्रादेशिक अस्पतालमा पहिलो पटक गर्भवती महिलाको एपेन्डिसाइटिस अप्रेसन सफल ।
प्रिय धन , नवलपुर । १५ बैशाख २०८२ ।
नवलपुर जिल्लाको कावासोती नगरपालिका निवासी १८ वर्षीया एक गर्भवती महिलाको मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा एपेन्डिसाइटिसको सफल अप्रेसन गरिएको छ । ६ दिन अघि अस्पतालमा गर्भवती अवस्थामा गरिएको पहिलो सफल एपेन्डिसाइटिस शल्यक्रिया हो। अस्पतालले एपेन्डिसाइटिसको अपरेशन गरेको करिब ३ वर्ष भईसक्यो तर गर्भावस्थामा अप्रेशन गरेको भने यो पहिलो पटक हो । महिलाको उमेर नपुगी गर्भधारण गर्दा पनि यस्तो उपचार गर्न थप समस्या हुन्छ ।
विरामी महिलाले पेट दुखाइ र असहजता अनुभव गरेपछि अस्पतालमा उपचारका लागि आएकी थिइन्। प्रारम्भिक जाँचपछि चिकित्सकहरुले उनलाई एपेन्डिसाइटिस भएको पत्ता लगाए र तत्काल शल्यक्रिया आवश्यक भएको निर्णय गरे। जोखिमका बावजुद डा. अर्चन घिमिरे नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक अप्रेसन सम्पन्न गर्यो। गर्भपट्टीको उपचार भने प्रसूति रोग विशेषज्ञ डाक्टर राम कुमार दासले गर्नुभएको थियो ।
अपरेशनपछि बिरामीले भनिन्, "शुरुमा धेरै डर लाग्यो। गर्भमा बच्चा भएकोले झन् चिन्ता भएको थियो। तर डाक्टर र अस्पतालको टिमको माया र हेरचाहले आज म र मेरो गर्भस्थ शिशु दुवै सुरक्षित छौं। उनीहरूप्रति म सदैव आभारी छु।"
चिकित्सा टोलीका प्रमुख डा. अर्चन घिमिरेले भन्नुभयो , "गर्भवती महिलाको एपेन्डिसाइटिस शल्यक्रिया निकै संवेदनशील प्रक्रिया हो। आमाको र बच्चाको स्वास्थ्यलाई सुरक्षित राख्न हामीले विशेष सावधानी अपनाएका थियौं। यस्तो अप्रेसन हाम्रो अस्पतालमा पहिलो पटक सफल भएकोमा हामी खुसी छौं र भविष्यमा यस्ता जटिल अवस्थाहरूको व्यवस्थापनमा अझ विश्वास बढेको छ।"
हाल बिरामीको अवस्था सामान्य रहेको र उनी र उनको गर्भस्थ शिशु दुवै पूर्ण रूपमा स्वस्थ रहेको अस्पतालले जानकारी दिएको छ। अस्पतालले आज सोमबार विरामीलाई डिस्चार्ज दिएको छ ।