15/11/2025
जब दबाबले जिज्ञासा मर्छ !
बालबालिकालाई सिकाउने उत्तम तरिका के हुनसक्छ ?
बालबालिकाहरु जन्मेदेखिनै स्वभावले जिज्ञासु र सिक्ने भएर जन्मेका हुन्छन्। तर जब सिकाइलाई प्रतिस्पर्धा र पूर्णताको लागि केन्द्रित गरिन्छ, संसारलाई नयाँ आकार दिन सक्ने बच्चाको जिज्ञासा क्रमशः घट्दै जान्छ। सामान्यतया घर वा विद्यालय सबै ठाउँमा अनुशासनको नाममा दिइने दबाबलाई सफलताको लागि आवश्यक मानिन्छ। यसले छोटो समयमा उपलब्धि नदिने होइन, तर दीर्घकालमा यसको असर राम्रो हुँदैन। फलस्वरूप आत्मविश्वास, सृजनशीलता र सिकाइप्रतिको बालबालिकाको इच्छा हराउँदै जान्छ।
वास्तविक सिकाइ भनेको भित्रैबाट उत्पन्न हुने कुरा हो। आत्मनिर्णय सिद्धान्तका अनुसार बालबालिकाले स्वतन्त्रता, दक्षता र सामाजिक सम्बन्धहरूको अनुभवबाट राम्रो सिक्न सक्छन्। बालबालिकालाई अत्यधिक दबाब दिँदा स्वतन्त्रता खोसिन्छ र सिकाइ डर र अनावश्यक आज्ञाकारितामा बदलिन्छ। अनुसन्धानकर्ताहरूले पनि स्पष्ट रूपमा भनेका छन् कि भावनात्मक सुरक्षा बिना बौद्धिक विकास सम्भव हुँदैन। कुनै पनि बालबालिकाको डरले भरिएको मनले उचित रूपमा कल्पना गर्न कहिल्यै सक्दैन भन्ने कुरा अभिभावक र शिक्षकहरूले बुझ्नुपर्छ।
मनोविद्हरूका अनुसार सहयोग र क्षमताको सन्तुलन भएको क्षेत्रमा बालबालिकाको सिकाइ बढ्छ। बालबालिकालाई उनीहरूको क्षमताभन्दा अत्याधिक दबाब दिँदा जिज्ञासाको ठाउँ चिन्ताले ओगट्छ। सहानुभूति र धैर्यताका साथ गरिएको मार्गदर्शनले उनीहरूलाई सहजताका साथ प्रगतिपथमा अगाडि बढ्न सहयोग गर्छ।बालबालिकालाई अनावश्यक रूपमा अरूसँग तुलना गरेर उचित विकासको अपेक्षा गर्न सकिँदैन। तसर्थ, यो भन्दा प्रोत्साहन गर्ने प्रक्रियालाई प्राथमिकता दिने हो भने बाल विकासलाई अगाडि बढाउन सकिन्छ र प्रभावकारी ढंगले विकासका कोसेढुंगा छिचोल्दै विकासको उत्तम गतिलाई समाउन सकिन्छ।
विकासमुखी सोचका दृष्टिकोणले हेर्ने हो भने क्षमतालाई तौल्ने प्रवृत्तिको सट्टा प्रयास गर्ने बानीलाई बढी प्राथमिकता दिँदा बालबालिका दृढ इच्छाशक्तिका साथ जिज्ञासु बन्छन्। दबाबले स्थिर सोच त पैदा गर्छ तर साथसाथै यसले क्षमतालाई सीमित तुल्याउछ, यसको ठिक बिपरित प्रोत्साहनले जिज्ञासा र सिकाइप्रतिको लचकता बढाउँछ। शिक्षाको उद्देश्य आज्ञाकारिता होइन, सहभागिता हो। “कति अंक ल्यायौ?” भन्दा पनि “के कुरा सिक्यौ?” भन्ने प्रश्नले सिकाइको अर्थ राख्दछ। खेल, विश्राम र आत्मचिन्तन बालबालिकाका सिकाइका आधार हुन्। दबाबले छोटो समयमा नतिजा दिएजस्तो त हुन्छ, तर बालबालिकाको सोच्ने क्षमतालाई प्रोत्साहन दिन सक्दैन। उचित रूपमा बालबालिकालाई दबाबबिनाको प्रोत्साहनको बाटोबाट अगाडि बढाउँदा पक्कै केही थप समय लाग्छ, तर यसले जीवनभर सिकाइलाई साथ लिएर हिँड्ने आत्मविश्वास र सकारात्मक मानसिकता बालबालिकामा निर्माण गर्छ।
तसर्थ, दबाब होइन, प्रोत्साहन गरौँ।
-मनोबिद भागवती भट्टराई
भट्टराई नेपाल एकेडेमी अफ साइकोलोजिमा प्रमुख मनोबिद को भूमिकामा कार्यरत हुनुहुन्छ । (Nepal Academy of Psychology)