
06/06/2025
गर्मी बढेसँगै सर्पको सक्रियता बढ्छ!
गर्मीयाममा सर्पहरू आहाराको खोजीमा मानव बस्ती नजिक आउने गर्छन् र यसले गर्दा सर्पदंशको जोखिम पनि बढ्छ। त्यसैले, सर्पदंशबाट बच्न र सर्पको संरक्षणमा सघाउन निम्न कुराहरूमा ध्यान दिऔँ:
* राति हिँड्दा टर्चलाइटको प्रयोग गरौँ।
* खेतबारी वा घाँसघारीमा काम गर्न जाँदा, पहिले लट्ठीले हल्का चलाएर जाँच गरेर मात्र काम सुरु गरौँ।
* अभिभावकहरूले आफ्ना बालबालिकालाई साँझपख घाँसे मैदान वा झाडीतिर खेल्न नपठाऔँ।
* दाउरा, पराल वा घाँसको थुप्रोलाई घरभन्दा अलि पर राख्ने गरौँ र प्रयोग गर्नुअघि राम्ररी झट्कार्ने वा जाँच गर्ने गरौँ।
* सर्प न्यानो र ओभानो ठाउँमा बस्न रुचाउने भएकाले यस्ता ठाउँमा काम गर्दा विशेष सतर्कता अपनाऔँ।
* ढुङ्गा, दाउरा र काठको थुप्रो पन्छाउँदा होसियार रहौँ।
* घरका भित्तामा भएका दरार वा प्वालहरू टाल्ने गरौँ र झ्याल-ढोका राम्रोसँग बन्द गरौँ।
* सकेसम्म भुइँमा नसुतौँ र सुत्दा अनिवार्य रूपमा झुलको प्रयोग गरौँ।
* घरवरिपरि मुसाको नियन्त्रण गरौँ। मुसाको खोजीमा सर्प घरभित्र पस्न सक्छ।
* सर्पले सामान्यतया मानिसलाई बिनाकारण आक्रमण गर्दैन। त्यसैले सर्प देख्नासाथ त्यसलाई जिस्काउने, चलाउने प्रयास नगरौँ।
* यदि सर्प घरभित्र पसेमा नजिकैको वन कार्यालय वा तालिमप्राप्त सर्प उद्धारकर्तालाई सम्पर्क गरौँ।
* कथंकदाचित् सर्पले टोकिहालेमा नआत्तिईकन तुरुन्तै सर्पदंशको उपचार हुने स्वास्थ्य संस्थामा जाऔँ। झारफुक जस्ता अन्धविश्वासको पछि लागेर समय खेर नफालौँ।
आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ।
"सर्प बचाऔँ, पर्यावरण जोगाऔँ।"