28/03/2024
ग्यास्टिक भनेको के हो?
आमाशयमा सुजन हुनु लाई नेपालीमा ग्यास्टिक भनिन्छ भने चलनचल्तीमा अम्लपित्त वा ग्यास्ट्राइटिस पनि भन्ने गरिन्छ। कसै कसैले गानो-गोला आदि नामले पनि यस्ता समस्या बारे बताउने गर्दछन्।
(आमाशयलाई अन्नथैली, पेट वा स्टोमेक पनि भनिन्छ।
कुनै अङ्गको सुजन हुनु भन्नाले त्यस भागमा जलन जस्तै हुनु वा रातो तातो हुनु, घाउ लागेको जस्तै हुनु, दुख्ने हुनु, सुन्निनु, सम्बन्धित काम गर्न नसक्ने हुनु, आदि अर्थ लाग्ने गर्दछ। सुजन हुनु लाई अंग्रेजीमा ईन्फ्लामेसन पनि भनिन्छ।)
आमाशयले के गर्दछ?
आमाशयले खाएको कुराको भण्डार गर्नुका साथै पाचनमा भूमिका गर्ने र थप अघि बढाउने गर्दछ। खानाको उचित पाचन भएमा मात्र शरीरले स्वास्थ रहनका लागि आवश्यक पोषण तत्वहरू प्राप्त गर्न सक्दछ।
ग्यास्टिकका लक्षणहरू के के हुन?
ग्यास्टिकमा निम्न मध्ये केही लक्षणहरू देखिन सक्छ:
-पेटको माथिल्लो भागमा दुख्ने,
-छातीमा जलन हुने,
-डकार आउने /ढ्याउ-ढ्याउ हुने,
-पेट फूल्ने,
-वाकवाकी हुने वा बान्ता हुने,
-भोक गडबड हुने,
-दिसा कालो हुने वा रगत देखिने,
-तौल गडबड हुने आदि।
ग्यास्टिकको जटिल अवस्थामा के हुन सक्छ?
समयमै ख्याल नगर्दा ग्यास्टिकले आमाशयको अल्सर देखि क्यान्सरको खतरा बढाउन सक्छ। विश्वमा हुने क्यान्सरको पाँचौ प्रमुख कारण आमाशयको क्यान्सर हो र यो क्यान्सरबाट हुने मृत्युको तेस्रो प्रमुख कारण हो। तर राम्रो पक्ष के हो भने समयमै उपचार गर्दा ग्यास्टिक पूर्ण निको हुन्छ।
ग्यास्टिक कसरी हुन्छ?
आमाशयको कलिलो भित्तालाई दख्खल वा असर पुगेमा ग्यास्टिक हुने गर्दछ।
ग्यास्टिक गराउन सक्ने कारकतत्वहरू के के हुन्?
निम्न कारणले ग्यास्टिक गराउन सक्ने हुनाले सावधानी लिनु राम्रो हुन्छ:-
- भोक लाग्दा खाना नखाने, धेरै खाने, खाने बित्तिकै सुत्ने वा खाने बित्तिकै कडा काम गर्ने,
- अपर्याप्त पानी सेवन,
- जंक फूड वा प्रशोधित वा प्याकेज गरिएको खाना,
- कडा मसलादार खाना, भुटेतारेका र पोलेका खाना, कडा नुन युक्त खाना, बासी सडेगलेका खाना,
- दुध युक्त खानपानको अत्याधिक सेवन,
- निश्चित औषधिहरू (जस्तै दुखाइको औषधि),
- मद्यपान / रक्सी जन्य पदार्थ,
- सुर्ती चुरोट सेवन,
- जीवाणु (जस्तै एच पाइलोरी),
- अपर्याप्त निद्रा,
- मनोवैज्ञानिक तनाव,
- उमेर (उमेर संगै ग्यास्टिक हुने सम्भावना बढ्छ),
- आनुवंशिक (कसैलाई), आदि।
उमेर बढे सगै थप सजग बन्नु राम्रो हुन्छ। उचित सन्तुलित खानपान गर्ने गरेमा यस समस्या कम गर्न सहयोग पुग्छ। योग/व्यायाम, प्राणायाम, ध्यान गर्ने गर्नाले पनि धेरै सकारात्मक लाभ मिल्छ। समयमै उचित उपचार लिएर ग्यास्टिक लाई चाँडै निको पार्न सकिन्छ।
ग्यास्टिक सम्बन्धित रोगहरू:
- आकस्मिक ग्यास्टिक Acute gastritis,
- पुरानो ग्यास्टिक Chronic gastritis,
- ऊर्ध्वग अम्लपित्त GERD / Acid reflux,
- आमाशयको अल्सर Peptic Ulcer,
- आमाशयको क्यान्सर Gastric cancer, आदि